माओवादी केन्द्रले गण्डकी प्रदेशमा राजनीतिक वैचारिक प्रशिक्षण गर्दै

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण गर्दैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितका नेताहरुले प्रशिक्षणमा सहभागी हुनेछन् ।

स्थानीय तहकाे निर्वाचनकाे तयारीकाे सन्दर्भमा माओवादी केन्द्रले देशब्यापी भेला तथा प्रशिक्षण चलाइरहेकाे छ ।

पोखरा सभागृहमा यही चैत ६ गते आइतबार हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिननाथ शर्मा लगायतको केन्द्रीय नेतृत्व पोखरामा आउने माओवादी केन्द्र गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।

पाेखरा सभागृहमा आइतबार ११ बजेदेखि हुने प्रशिक्षणको सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयाे ।

अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जवस मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहकारहरु सहभागी हुनेछन् ।

यसैगरी प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, गण्डकी प्रदेश अधिवेशन आयोजक समितिका सदस्य, गण्डकीका सम्पर्क समन्वय विशेष सदस्य, जवस मोर्चाका प्रदेश अध्यक्ष, संयोजक र सहसंयोजक, नेकपा हुँदाका जिल्ला सदस्य र महानगर समितिका सदस्यहरु, नगर, गाउँ समितिका पदाधिकारीहरु, जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरु, नगर गाउँपालिकाका प्रमुख, अध्यक्ष र उपाध्यक्षहरु, पोखरा महानगर समितिको हकमा महानगर समितिका सबै सदस्यहरु, महानगर वडाका पदाधिकारीहरु र कास्कीका सबै गाउँपालिका समितिका सदस्यहरु सहभागी गरी दुई हजार ५०० नेता कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने माओवादीले जनाएको छ ।

माओवादीले प्रशिक्षण लगत्तै गण्डकीका ११ वटै जिल्लामा स्थानीय निर्वाचन केन्द्रित पार्टी गतिविधि अघि बढाउने योजना बनाएको छ । अध्यक्ष गुरुङले भन्नुभयो,“संघीयताको जन्मदाता र यसको प्राप्तिको आन्दोलनको अगुवाई गरेको शक्तिका हिसाबले माओवादीको विजयले मात्र प्राप्त उपलव्धिहरु संस्थागत हुन सक्छन् । प्रदेशका ११ वटै जिल्लाका सबै पालिकामा पार्टीलाई एक ढिक्का बनाएर जनताको बीचमा जान्छौँ ।”

Facebook Comments