आफ्नै तागतमा उभिएर चुनावमा जान्छाैः प्रचण्ड
समावेशी समानुपातिक सहभागीता लगायतका उपलब्धि उल्ट्याउन खोजिएको छ
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गठबन्धनको आशमा भन्दा आफ्नै पार्टी तथा नेता कार्यकर्ता एवं जनताको भरमा चुनावमा केन्द्रित हुन अपिल गर्नुभएको छ ।
पोखरामा प्रेस सेन्टर गण्डकी प्रदेशले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा कुनै दुविधा नराख्न आग्रह गर्दै आफ्नै पार्टी नेता कार्यकर्ता र आम जनताको भरमा निर्वाचनमा जाने बताउनुभएको हो ।
उहाँले गठबन्धन प्रतिगामी षडयन्त्र परास्त गर्नका लागि बनेको भन्दै सम्भव भएका स्थानीय तहमा सहकार्य हुन सक्ने बताउनुभयो । यसपटकको निर्वाचनमा माओवादी पार्टीका लागि विशेष महत्वको रहेको प्रचण्डको भनाई थियो ।
उहाँले माओवादीको ठूलो संघर्षपछि प्राप्त भएको संघीयता, समावेशीता र समानुपातिक सहभागिता लगायतका एजेण्डा मन नपर्ने प्रवृत्ति र जनताका पक्षमा प्राप्त भएका उपलब्धि जोगाउने प्रवृत्तिवीच संघर्ष भइरहेको बताउनुभयो ।
संविधान र अहिले हाँसिल भएका उपलब्धि मुख्यतः केपी शर्मा ओलीलाई मन नपरेको आरोप लगाउँदै प्रचण्डले निवार्चनमा माओवादीले स्थापित गरेका एजेण्डा लिएर मतदाता समक्ष जान अपिल गर्नुभयो ।
एमसिसी ब्याख्यात्मक टिप्पणीका साथ पारित गरेर देशलाई दुर्घटना हुनबाट बचाइएको प्रचण्डको दावी थियो । उहाँले अमेरिकाले एमसिसीमा नेपालले गरेको ब्याख्यात्मक टिप्पणी अस्वीकार गरेमा स्वतः अगाडि बढ्न नसक्ने स्पष्ट पार्नुभयो ।
माओवादी पहिलो पार्टी बन्ने संभावना देखिएको भन्दै प्रचण्डले कसैको बैशाखी टेकेर नभई आफ्नै बलबुताले निर्वाचनमा सहभागी हुने बताउनुभयो । संविधानको रक्षा र मुलुकलाई अगाडि बढाउनका लागि अन्य राजनीतिक दलहरू माओवादी केन्द्रसँग सहकार्यका लागि बाध्य हुने प्रचण्डको भनाई थियो ।

