महंगी नियन्त्रणमा गण्डकी प्रदेश सरकारको चासो, अनुगमन बढाउन पत्राचार
पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाउनुभएकाे छ ।
यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गर्नुभएकाे छ ।
मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ बढेको, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वभाविक महंगी बढेको गुनासो आएपछि नियन्त्रणका लागि पहल थालिएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘महंगी बढेको छ, हामी सबै यसबाट पीडित छौं, यसलाई नियन्त्रण गर्न एकल प्रयासले सम्भव छैन, ३ तहकै सरकारबीच समन्वय जरुरी छ ।
उक्त छलफलपछि मुख्यमन्त्रीको निर्देशन अनुसार ३ बुँदे निर्णय गरिएको छ । महंगी नियन्त्रणका लागि प्रदेशको पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरोकारवालाई आमन्त्रण गरी छलफल गर्ने निर्णय भएको निमित्त प्रमुख सचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयाे ।
उहाँका अनुसार प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार अनुगमन कार्यालय प्रभावकारी बनाउन प्रदेशस्तर, जिल्लास्तर र स्थानीयस्तरका बजार अनुगमन समितिबीच समन्वय कायम गरी बजार अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
यसैगरी जिल्लास्तरीय बजार अनुगमन समितिलाई सक्रिय बनाउन ११ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय समेत उक्त बैठकले निर्णय गरेको छ ।
बैठकमा पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले अनियन्त्रित बजार भाउलाई काबुमा राख्न उपभोक्ता सचेतनाका साथै क्षमता अनुसार नियमित अनुगमन गर्दै आएको बताउनुभयाे ।
प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको सक्रियतामा कास्की र आसपासका जिल्लामा अनुगमन हुने गरेको छ ।
बैठकमा पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले प्रदेशले अनुगमन गर्दै आए पनि कतिपय अवस्थामा कानुनी जटिलता रहेको भन्दै ती जटिलताको अन्त्य हुनुपर्ने भनाइ राख्नुभयाे ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा लापरवाही देखिएको बताउनुभयाे ।
उहाँले उही कम्पनीको उत्पादित सामानको मूल्य आजको भोलि नै फरक गरेर पठाएको पाइएको छ, यसरी एमआरपी बदल्ने पद्धतिको नियन्त्रण गर्नुपर्नुे बताउनुभयाे ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज रिजालले विभिन्न निकायको सहयोग लिएर नियमित रुपमा बजार अनुगमन हुँदै आएको बताउनुभयाे ।
पोखरामा मिनरल वाटरमा कार्टेलिङका कारण मंहगी बढेको पाइएको जानकारी गराउनुभयाे ।
कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, आन्तरिक मामिला सचिव बद्रिनाथ अधिकारी, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनी, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेशका निर्देशक कुलदेव थापा लगायत बजारमा देखिएका समस्या र समाधानका उपायका बारेमा धारणा व्यक्त गर्नुभएकाे थियाे ।

