विद्यमान दलसँग मतदाताको असन्तुष्टी मतदान मार्फत् व्यक्त

नेपालमा रहेका विद्यमान दलप्रतिको असन्तुष्टी आम नागरिकले निर्वाचन मार्फत् व्यक्त गरेका छन् । खास गरी सहरी क्षेत्र जहाँ मध्यम वर्गका नागरिकको बसोबास रहने गर्छ ती क्षेत्रमा नयाँ नयाँ अनुहारलाई मतदाताले रुचाएका छन् ।

त्यस्तै मधेस र थारु बाहुल्य क्षेत्रमा पनि नयाँ पार्टीेप्रति मतदाताको आर्कषण देखिएको छ ।

यस पटकाको निर्वाचनमा सहरी क्षेत्रमा रवि लामिछानेको नेपाल स्वतन्त्र पार्टी, पश्चिमको थारु बहुल क्षेत्रमा जेलमा रहेको रेशम चौधरीको योजनामा गठन भएको नागरिक उन्मुक्ति पार्टी त्यस्तै मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टीले केही स्थानमा ठूला दलहरुलाई झस्काउँदै मत परिणाम आफ्नो पक्ष्मा ल्याएका छन् ।

मधेसको राजनीतिमा विद्यमान प्रभाव राख्ने जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु नै विजयी हुन मुस्किल देखिएको छ ।

गठबन्धनका कारण कांग्रेस केही सहज रुपमा छ भने सबैभन्दा असहज अवस्थामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुगेका छन् । गठबन्धन गरेका स्थानमा पनि सहज रुपमा यी दलका उम्मेदवार विजयी हुने अवस्था छैन ।

एमालेको अवस्था सो पार्टीले दाबी गरेजस्तो नभएपनि ४१स्थानमा एमालेका उम्मेदवार अगाडि छन् भने ३ स्थानमा विजयी भइसकेका छन् ।

समग्रमा मतदाताले ठूला राजनीतिक दलहरुप्रति भने असन्तुष्टी प्रकट गरेका छन् । जसले गर्दा निर्वाचन अगाडि दलहरुले अनुमान गरेभन्दा फरक खालको राजनीतिक अवस्था सिर्जना हुने देखिएको छ ।

Facebook Comments