चार्ल्स शोभराजलाई अध्यागमनकाे जिम्मामा पठाइने

सर्वोच्च अदालतको आदेशपछि रिहा भएका  ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागकाे जिम्मा लगाउन लागिएकाे छ । शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी गृहमुलुक फ्रान्स पठाउन तयारीमा अध्यागमन विभागले काम गरिरहेकाे छ ।

विहीबार नै थुनामुक्त भएपनि अध्यागमन विभागकाे तयारी नपुगेका कारण शाेभराज पाहुनाका रूपमा केन्द्रीय कारागारमा राखिएकाे थियाे । केन्द्रीय कारागारमा रहेका शाेभराजलाई आज शुक्रबार अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

अध्यागमनले नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउने कानुनी व्यवस्था अनुसार पुनः नेपाल आउन नपाउने गरी निर्णय गर्न लागेकाे हाे ।

बुधबार मात्रै सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फिर्ता पठाउन र साेकाे जानकारी दिन सरकारकाे नाममा आदेश दिएको थियो । अदालतले ७८ बर्षीय शाेभराजलाई ज्येष्ठ नागरिकले पाउने सुविधा अन्तर्गत कैदमुक्तकाे फैसला गरेकाे हाे ।

Facebook Comments