राष्ट्रियसभाका लागि माैन अवधि शुरू
पर्सि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेदेखि नै मौन अवधि शुरु भएको जानकारी गराउँदै माैन अवधिकाे पालना गर्न भनेकाे छ ।
मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने प्रावधान छ ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री स्वयं उम्मेदवार रहेकाे पक्षले नै हटाउनुपर्ने हुन्छ ।
एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । तर यसकाे भने नियमन प्रभावकारी नहुँदा पालना हुन असम्भव प्रायः देखिन्छ ।
मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।
साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते निर्वाचन हुन लागेकाे हाे । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
मतभारका आधारमा मतगणना हुने उक्त निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्न पाउछन । स्थानीय तहका प्रमुखकाे मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।
सातै प्रदेशमा कुल २०२५ मतदाता छन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने तथा हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

