ब्याजदर घटाउने मागसहित आन्दोलनमा उत्रने पोखराका व्यवसायीहरुको घोषणा

पोउवा संघका अध्यक्ष प्रजापतिको संयोजकत्वमा संघर्ष समिति गठन

पोखराका उद्योगी÷व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको ब्याजदर घटाउने मागसहित कडा आन्दोलन गर्ने भएका छन् ।

 पोखरा उद्योग वािणज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी उद्योगी÷व्यवसायीहरुले आन्दोलनको लागि संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठनसमेत गरेका छन् ।

संघर्ष समितिमा पोखरासहित लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न व्यावसायिक संघ÷संस्था तथा बस्तुगत संघहरु रहेका छन् ।

‘बैठकले बैंकको ब्याजदर घटाउन सशक्त आन्दोलन गर्ने म्याण्डेट दिएको छ’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भन्नुभयाे, ‘संघर्षका कार्यक्रमहरु वारपार गर्ने खालका हुन्छन्, हामी तिहारलगत्तै संघर्षमा उत्रन्छौँ ।’ उहाँले आन्दोलनका स्वरुपबारे छिट्टै जानकारी दिने बताउनुभयाे ।

यसअघि संघले अर्थमन्त्री, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसियसनलाई ज्ञापनपत्रमार्फत् ब्याजदर घटाउन आग्रह गरिए पनि सुनुवाइ नभएको व्यवसायीहरूकाे गुनासाे थियाे ।

बैंकले कुसमयमा बढाएको ब्याजदर,कर्जाको साँवा र ब्याजको लागि पटक–पटक गरिने ताकेता र विभिन्न बहानामा लिइने शुल्कहरु नघटेसम्म आन्दोलन जारी रहने व्यवसायीले उल्लेख गरे ।

पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बैंक तथा वित्तीय संस्थाहरुको दादागिरीले आजित भएर आन्दोलनको कार्यक्रम घोषणा गरिएको बताउनुभयाे ।

Facebook Comments