योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने
माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गर्नुभएकाे छ ।
कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना आफूसँग रहेको उल्लेख गर्नुभयाे ।
पोलिटिकल साइन्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयाे, ‘राज्यले दिएका सानातिना जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु । अब जनताले जिम्मेवारी दिनुभयो भने निराश नबनाउने खालको खाका मसँग छ ।’
आइतबारै पोखरा ७ मा भएको कार्यक्रममा लामिछानेले सत्ता गठबन्धनबिना देश अघि बढ्न नसक्ने तर्क गर्नुभयाे । एमाले नेतृत्वको सरकारले पटक पटक प्रतिगमन गरेको दाबी गर्दै स्थिरता र समृद्धिका लागि गठबन्धनको विकल्प नभएको उहाँकाे जिकीर थियाे ।
गठबन्धनको पोखरा १७ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उहाँले संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जनताले अनुमोदन गर्ने जनाउनुभयाे । उहाँले भने, ‘यो गठबन्धनले देशलाई अनिश्चयको यात्राबाट जोगाएको छ । कसलाई मत दिँदा देशको विकास हुन्छ भन्ने जनतालाई थाहा छ ।’
लामिछानेले पोखराको विकासका लागि बनेका योजना कार्यान्वयन र संविधानमा उल्लिखित मौलिक हक ग्यारेन्टी गर्न आफूले योगदान गर्ने उल्लेख गर्नुभयाे।

