एमालेले जिते मुलुकको विकास र समृद्धि सम्भव : एमाले उम्मेदवार गिरी
नेकपा एमाले पर्वतका उम्मेदवारहरुको चुनावी कार्यक्रम आइतवार पर्वतको विहादी गाउँपालिका स्थित रानीपानी र वहाकीमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ख का उम्मेदवार मित्रलाल बस्याल सहित एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा रानीपानी र वहाकीका विभिन्न बस्तीमा पुगेर घरदैलो र कोणसभा गरिएको हो । रानीपानीका कुमालगाउँ, माझिवस्ती, पस्यार, इमिचौर, तथा वहाकीका लिङसिङ, वहाकीठाँटी लगायतका ठाउँमा कोणसभा र घरदैलो गरिएको हो ।
सो अवसरमा मतदातालाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले तीनै तहका सरकारमा एमाले बिजयी भएमा मुलुकको विकास र समृद्धि सम्भव हुने बताउँदै त्यसको उदाहरण विगत पाँच वर्षको कार्यकाललाई हेर्न आग्रह गर्नुभयो ।
कालीगण्डकी करिडोर, चिसापानी–वहाँकीठाटी–खहरेखोला सडक कालोपत्रेदेखि शिक्षा क्षेत्रका पूर्वाधार, गाउँपालिकाको प्रशासकिय भवन, खानेपानी विस्तार लगायतका सयौ योजनाहरु सम्पन्न गर्न सफल भएको बताउँदै केहि अधुरा रहेका योजनाहरु पुन: मंसिरमा निर्वाचित भएपछि सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मुलुकको भविष्य निर्माण गर्ने पार्टी नेकपा एमालेमात्र भएको बताउँदै गिरीले पाँच दलिय गठवन्धन मुलुकका लागि अभिसाप भएको बताउनुभयो । उहाले यस पटक पनि पर्वतमा फराकिलो मतान्तरले एमाले बिजयी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले सुखि नेपाली समृद्ध नेपालको योजनालाई साकार पार्नका लागि नेकपा एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो ।
एमाले जनताको पार्टी भएकाले अन्य दलहरुको भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । बस्यालले आफु बिजयी भएपछि गणस्तरीय विकास निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानीको विस्तार र स्वरोजगारमुखि कार्यक्रमलाई जोड दिने समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, प्रदेश कमिटि सदस्य कमल भुसाल, सामानुपातीक सांसदका उम्मेदवार केशकुमारी दमिनि लगायतले बोल्नुभएको थियो ।
पार्टीको कार्यक्रम जहाँ जहाँ छ त्यहाँ उत्साहजनक सहभागिता देखिने गरेको एमाले चुना प्रचार प्रसार समितिका संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश क का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदीका बिभिन्न बस्तीमा जारी रहेको छ ।

