प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिदैं
दलहरू छलफलमै ब्यस्त
राष्ट्रपति कार्यालयले एक साताकाे समय दिएर नेपालकाे संविधान २०७२ काे धारा ७६ काे उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न दिएकाे आज अपरान्ह ५ बजे सकिदैछ ।
धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न पुस ३ गते राष्ट्रपति कार्यालयले समय दिएकाे थियाे ।
गत पुस ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको समय दिँदै पुस १० गते अपरान्ह ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी गर्न समय दिनुभएकाे थियाे ।
यसवीचमा प्रतिनिधिसभाका निर्वाचित सांसदहरूले सपथ लिइसकेका छन् । राजनीतिक दलहरूले दलनेता चयन गरेर सरकार गठनकाे गृहकार्यमा लागेका पनि छन् । तथापि सरकारकाे नेतृत्वमा सहमति जुटाउन भने सकेका छैनन् ।
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा अहिलेकै सत्ता गठबन्धनबाट नयाँ सरकार बनाउन पहल गरिरहेको छ भने गठबन्धनमा जनमत पार्टीलगायत केही पार्टीलाई पनि समावेश गर्ने कोशिस गरिरहेको छ। गठबन्धनमा रहेका दलहरूवीच सरकारकाे नेतृत्वमा आलाे पालाे गर्ने सहमति भएपनि पहिला कस्काे नेतृत्वमा बनाउने भन्ने बिषयमा भने विवाद छ ।
नेकपा एमालेले पनि गठबन्धन भत्काएर नयाँ सरकार गठनका लागि पहल भने गरिरहेको छ। माओवादी केन्द्रले गठबन्धन छाडेमा प्रधानमन्त्रीमा प्रचण्डलाइ नै प्रधानमन्त्री बनाउन समेत तयार रहेकाे सन्देश एमालेले दिएकाे छ । तर संवादमा रहेपनि उक्त प्रस्तावमा माओवादी केन्द्र विस्वस्त हुन नसकेकाे बताइन्छ ।
कांग्रेसका नेताहरूले वर्तमान सत्ता गठबन्धनबाटै सरकार गठन हुने बताइरहेका छन् ।

