१९ राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै, नतिजा पनि आजै आउने
संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रिय सभाकाे १९ सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ ।
एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुन लागेकाे हाे । निर्वाचन आयोगले बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको तथा नतिजा पनि आजै आउने जनाएको छ ।
आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुने आयोगले जनाएकाे छ ।
मतदानका लागि सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । मतदानमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख प्रदेश सदस्यले भाग लिनेछन् ।
सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।
प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ । निर्वाचनकाे नतिजा पनि आजै घाेषणा गर्ने निर्वाचन आयोगकाे तयारी छ ।

