पुस १४ देखि आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हुने
आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुस १४ गतेदेखि पोखरामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा यहि पुस १४ गतेदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करण शुरु हुन लागेको हो ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सहारा क्लव पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लव, मनाङमस्र्याङ्दी क्लव, नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव, मच्छिन्द्र फुटबल क्लव, संकटा क्लव, चर्च व्वाईज युनाईटेड फुटबल क्लव, भुटनिज युथ स्पोर्टस क्लव युएसए, धरान फुटबल क्लव र आयोजक सहारा क्लव गरी १२ टिमले सहभागिता जनाउने सहारा क्लव पोखराका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयाे ।
प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव पोखरा र धरान फुटबल क्लव भिड्ने भएका छन् । यी दुई टोली आहा रारा गोल्डकपमा १२ वर्षपछि भिड्न लागेका हुन् ।
सहारा र धरान आहा रारा गोल्डकपको उद्घाटनमा दशौं आहा गोल्डकप पछि हुन लागेको हो । २०६८ सालमा यी दुई टोलीले उदघाटनमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला सहाराले धरानलाई १–० गोलले पराजित गरेको थियो ।
आयोजकका अनुसार प्रतियोगिताको दोश्रो दिन पुस १५ गते आहा ! रारा गोल्डकपको सर्बाधिक बिजेता नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाईटेड आमने सामने हुनेछन् ।
त्यस्तै, पुस १६ गते सहारा क्लब र धरान फुटबल क्लब बीचको विजेताले सशस्त्र प्रहरी बलसँग अन्तिम चार प्रवेशको लागि प्रतिष्पर्धा गर्नेछ । पुस १७ गते भने नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीचको विजेताले मछिन्द्र फुटबल क्लबसँग भिड्नेछ ।
प्रतियोगिता हेर्न सर्वसाधारण दर्शकका लागि तीन प्रकारको टिकट दर कायम गरिएको आयोजकले जनाएको छ । जसअनुसार प्रिक्वाटर र क्वाटरफाइनलका लागि एक सय, सेमीफाईनलका खेलहरुका लागि दुई सय र फाईनल खेल हेर्नका लागि ३ सय टिकट दर तोकिएको आयोजक सहारा क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयाे ।
भिआईपीका लागि भने प्रिक्वाटर र क्वाटरफाईनलमा दुई सय, सेमीफाईनलमा चार सय र फाईनलमा पाँच सय टिकटदर निर्धारण गरिएको उनले बताए ।
सहारा क्लवले यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङलाई सम्मान गर्ने भएको छ । तामाङलाई नगद ५० हजार राशीसहित दोषल्ला र ताम्रपत्रले सम्मान गरिने आयोजक सहारा क्लवका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । यसअघि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट सम्मानितलाई सहाराले नगद ३५ हजार दिने गरेको भएपनि यस वर्ष १५ हजार बढाएर ५० हजार पु¥याएको हो ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको बिजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बिजेताले पाउने राशी अघिल्लो प्रतियोगिताको भन्दा २ लाख बढी हो ।
त्यस्तै, उपबिजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो अघिल्लो वर्षको भन्दा १ लाख बढी हो । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने आयोजक सहारा क्लव पोखराले जनाएको छ । उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच ट्रफी र नगद पुरस्कार सहारा युकेले प्रायोजन गर्ने जनाइएको छ ।

