अबको सरकारी सेवा पेपरलेसमात्र हैन फेसलेसः उद्योग सचिव बोहरा
गण्डकी प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिकग्राम निर्माणका लागि स्थानीय तहहरु उदासिन देखिएको बताउनुभएकाे छ ।
उहाँले गण्डकीका २५ वटा स्थानीय तहमा उद्योगग्राम स्थापना भए पनि प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयाे । व्यावसायिक वातावरण तथा जग्गाको अभावका कारण यस्तो देखिएको पनि उहाँको प्रष्टोक्ति थियाे । पालिकाहरुले भनेजस्तो काम नगरेको पनि उहाँको दुखेसो छ ।
सचिव बोहरा पर्यटन तथा उद्योग कार्यालय कास्कीले मंगलबार पोखरा उद्योग वाणिज्य संघसँगको समन्वयमा आयोजना गरेको व्यवसायीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभयाे । कास्कीको पुँडीटार र नवलपुरमा औद्योगिक क्षेत्र निर्माणको पहल भएको र त्यसले उद्योग स्थापनामा सघाउने धारणा पनि राख्नुभयाे ।
उहाँले संघीय सरकारले ल्याएको औद्योगिक व्यवसाय ऐन २०७६ ले ‘एकल विन्दु सेवाकेन्द्र’को अवधारणा अगाडि सारेको जनाउँदै ढिलोचाँडो सेवाग्राहीलाई एउटै कोठाबाट व्यवसाय दर्ताका सवै सेवा दिइने बताउनुभयाे ।
‘सरकारी कार्यालयलाई पेपरलेसमात्र नभएर फेसलेस बनाउने प्रक्रिया सुरु भएको छ’ उहाँले भन्नुभयाे, ‘गण्डकी सरकारले पनि त्यो काम गर्छ । मन्त्रालय बढ्ने–घट्ने गर्दा काम प्रभावित भएको हो ।’
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसाय दर्ता,कर चुक्ता र व्यवसाय खारेजी प्रक्रिया सहज हुनुपर्ने माग गर्नुभयाे ।
उहाँले घरैबाट व्यवसाय दर्ता हुने र प्रमाणपत्र लिनमात्र जाने व्यवस्था गर्न कठीन नभएको तर्क गर्दै बीमा कम्पनीले तपाईंको बीमाको म्याद सकियो, रिन्यू गर्नुहोला भन्न सजिलै सक्छ भने व्यवसायीहरुलाई सरकारी कार्यालयले आवश्यक सूचना किन दिन सक्दैनन् भनी प्रश्न गर्नुभयाे ।
पर्यटन ,उद्योग,वाणिज्य तथा उपभभोक्ता हित निर्देशनालयका गण्डकीका निर्देशक प्रविण ढकालले पछिल्लो समय सरकारी कार्यालयहरु सेवाग्राही मैत्री हुँदै गएको जिकिर गर्नुभयाे ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले गण्डकीमा अर्को औद्योगिक क्षेत्रको टड्कारो आवश्यकता रहेकाे बताउनुभयाे ।

