पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान
पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिनुभयो ।
स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुर्ण सहदुपयोग गर्ने बताउनुभयो । उहाँका अनुसार गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ ।

