एपीएफ र मनाङ मर्स्याङ्दी क्लब आहा राराकाे फाइनलमा
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको गाेल्ड कपकाे उपाधि हाेडमा सशस्त्र प्रहरीकाे एपीएफ र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन् ।
मनाङ उपाधि जितेर २०औँ संस्करणको सर्वाधिक ट्रफी उचाल्ने अवसर दाउमा छ भने एपीएफलाई पनि पहिलो पटक उपाधि हात पार्ने सुवर्ण माैका पर्खिरहेकाे छ ।
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मर्स्याङ्दी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ।
‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले ६ पटक ट्रफी उचालिसकेकाे छ । २०६४ पछि अहिले एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ।
शनिबार पोखरा रङ्गशालाको मैदानमा उत्रिँदा दुबै टोलीलाई नयाँ इतिहास रच्ने अवसर भने मिलेकाे छ ।
यही माघ ६ गतेदेखि जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।
यसपटक काेराेना कहरले गर्दा प्रतियाेगितामा दर्शककाे संख्या कम छ । त्यसमा सरकारले नै खाेप कार्ड अनिवार्य गर्नुका साथै सिट संख्याकाे एक तिहाइ मात्र दर्शककाे उपस्थितिमा खेलकूद प्रतियाेगिता सञ्चालन गर्न अनुमति दिएकाे छ । शुरूका खेल भने दर्शक विना नै खेलाइएकाे थियाे ।

