आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरिंदै
सरकारले संवैधानिक प्रावधान अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदैछ । अपराह्न चार बजे बस्ने संघीय संसद संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को आय-व्ययको विवरण प्रस्तुत गर्ने कार्यतालिका छ ।
नेपालकाे संविधानमा नै हरेक बर्षकाे जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था गरिएकाे छ ।
यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । सत्ता गठबन्धनले यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने खालकाे बजेट ल्याउने प्रयास गर्ने निश्चित छ ।
ज्येष्ठ नागरिककाे भत्ता पाउने उमेर हाल कायम रहेकाे ७० बाट घटाउने, कर्मचारीकाे तलव वृद्धि, कृषि लगायतका विभिन्न क्षेत्रमा अनुदानकाे घाेषणा लगायतका कार्यक्रम बजेटमा समेट्ने तयारी छ ।
बजेटमा पेट्राेलियम पदार्थमा लगाइएकाे कर घटाउने तयारी छ । आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब भन्दा माथि हुने बताइएकाे छ । अर्थतन्त्र र मुलुकमा महंगी अत्याधिक बढेकाले बजेटबाट नागरिकले प्रत्यक्ष रूपमा केही राहत महशुस गर्ने केही कार्यक्रम घाेषणा गर्नुपर्ने दबाब सरकारमाथि छ ।

