नेकपा एसले अहिलेकै गठबन्धन अगाडी बढाउने
नेकपा एकीकृत समाजवादीले अहिलेकै सत्ता गठबन्धनकाे निरन्तरता उपयुक्त हुने निष्कर्ष निकालेकाे छ ।
काठमाडाैंमा करिब १६ सय प्रतिनिधिको सहभागितामा भएको केन्द्रीय परिषद बैठकले यसैवर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वर्तमान सत्ता गठबन्धनसँग मिलेर अगाडी बढ्न उपयुक्त हुने निष्कर्ष निकालेकाे हाे ।
समाजवादीले आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुन नसक्ने निष्कर्ष निकाल्दै सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा बैठककाे निष्कर्ष निकालेकाे केन्द्रीय नेता जग्गनाथ खतिवडाले जानकारी दिनुभयाे ।
परिषद बैठकमा सहभागीले विभिन्न ११ वटा समूहमा छलफल गरी निष्कर्ष सुनाएका थिए । पार्टी अध्यक्ष माधकुमार नेपालले समूहगत छलफलकाे निचाेडपछि एमालेसँग यही निर्वाचनमा सहकार्यको सम्भावना नभएको बताउनुभएकाे थियाे ।
यद्यपि केही समूहमा भने बाम एकता अनि एमालेसँग पनि मिल्नुपर्ने मत राखेका थिए । अध्यक्ष नेपालले यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य नहुने प्रष्ट पार्नुभएकाे थियाे ।
बैठकले समसामयिक बिषयमा १७ वटा निर्णय गरेकाे पार्टीका प्रचार विभाग प्रमुख समेत रहनुभएका नेता खतिवडाले जानकारी दिनुभयाे ।
समसामयिक प्रस्तावमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने, किसानहरूलाई सहज तरिकाबाट मल तथा बिउबिजन आपूर्ति व्यवस्था मिलाउनुपर्ने, त्यस्तै महिला तथा बालबालिकाहरूमाथि भइरहेको यौन हिंसा तथा सामूहिक बलात्कारको आपराधिक घटनाकाे छानविन र कडा कार्वाही लगायतका छन् ।
खतिवडाका अनुसार बर्षातका कारण आउने सम्भावित विपद र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतमा पार्टी पंक्ति समक्ष अपिल गरिएकाे छ ।
काठमाडौं उपत्यका लगायका विभिन्न स्थानहरूमा झाडापखालाका बिरामी देखिएकाे भन्दै रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्न माग नेकपा एसकाे केन्द्रीय परिषद बैठकले गरेकाे छ । बैठक साेमबार र मंगलबार २ दिन चलेकाे थियाे ।

