जेठमसान्तसम्म स्थानीय तहकाे निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । शनिबार सत्ता गठबन्धनमा सहभागी ५ दलवीच २ चरणमा भएकाे बैठकपछि यस्ताे सहमति भएकाे हाे ।

यसअघि स्थानीय तहकाे निर्वाचन संविधान र कानुनमा फरक प्रावधान रहेकाे भन्दै अर्काे वर्षकाे फागुनसम्म निर्वाचन गर्न सकिने गठबन्धनका नेताहरूकाे भनाइ थियाे ।

कानुनविद तथा प्रतिपक्षी दल र स्वयं गठबन्धनिभत्रकै नेताहरू समेतले दबाव दिएका कारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु जेठमा चुनाव गर्न तयार भएका हुन् ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।

सत्ता गठबन्धनको सुझाव अनुसार अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । जेठकाे तेस्राे साता वा अन्तिम साता निर्वाचन गर्ने सरकारकाे तयारी छ ।

निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै बैशाखमा निर्वाचन गर्नुपर्ने भन्दै दबाव दिँदै आएको थियो ।

तर सत्तारुढ दलका नेताहरु भने स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा रहेको भन्दै स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकाले संशोधन गरेर निर्वाचन जानुसार्नेमा समेत सहमत भएका छन् ।

त्यस्तै नयाँ निर्वाचनबाट आउने जनप्रतिनिधिको कार्यकाल पहिले निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएको भोलिपल्टबाट शुरु हुने व्यवस्था ऐनमा गर्ने तयारी छ ।

यसअघि २०७४ सालमा ३ चरणमा स्थानीय तहकाे निर्वाचन भएकाले ५ वर्षकाे कार्यकाल कहिले सकिने भन्नेमा दलहरूवीच फरक धारणा रहेकाे छ ।

Facebook Comments