शहीद दिवसः शहीदहरूकाे स्मरण गरिंदै

राणाशासनकाे विराेध, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ ।

वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवसकै रूपमा मनाउन थालिएको हो ।

अहिले पनि काठमाण्डाै महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ ।

विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यी ४ जना शहीदहरूकाे शहादत भएकाे दिनहरू समेटी सबै शहीदहरूप्रति सम्मानका लागि शहीद दिवस मनाउन थालिएकाे हाे ।

माघ १६ गते आइतबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएकाे छ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएकाे छ ।

कोरोनाको तेस्रो भेरियन्ट सक्रिय रहेकाले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गर्ने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ ।

यसैवीच राष्ट्रपति, प्रधानमन्त्रीले शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै शहीदका याेगदानकाे स्मरण गर्नुभएकाे छ । सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन शहीद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएकाे छ ।

सन्देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरिएकाे छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताउनुभएकाे छ ।

शहीदहरूकाे याेगदानका कारण स्वतन्त्रता र आत्मसम्मान प्राप्त भएकाे प्रधानमन्त्रीकाे धारणा छ ।

Facebook Comments