नागरिकता विधेयकबारे राष्ट्रपतिद्वारा माओवादी केन्द्रका नेताहरूसँग छलफल
नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाउनुभएकाे छ । परिमार्जनका लागि सन्देशसहित संसदमा फिर्ता पठाएपनि बहुमतले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि पेश हुने संभावनाकैवीच राष्ट्रपतिले छलफललाइ तीव्रता दिनुभएकाे हाे ।
बुधबार राष्ट्रपति भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरूसँग शितल निवासमा छलफल गर्नुभएकाे हाे ।
यसअघि राष्ट्रपतिले कांग्रेस र एमालेका नेताहरूसँग पनि नागरिकता विधेयकलगायतबारे छलफल गर्नुभएकाे थियाे ।
राष्ट्रपति भण्डारीसँगकाे छलफलमा नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको चासो र माओवादी केन्द्रकाे धारणा समान रहेको जानकारी गराइएकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
‘वैवाहिक अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं,’ प्रचण्डकाे सचिवालयले दिएकाे जानकारीमा उल्लेख छ ।
साथै प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने सरकारकाे प्रतिबद्धता जनाएको उल्लेख गर्नुभएकाे थियाे। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदा पेश भइ राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार नै अहिलेकाे विधेयक रहेकाे प्रचण्डकाे भनाइ थियाे ।

