नेतालाई चुनाव, जनतालाई बाली भित्र्याउने चटाराे
मंसिर ४ मा हुने निर्वाचन आउन अबकाे २० दिनमात्र बाँकी छ । यतिबेला धान पाकेकाले किसानी पेशामा रहेका जनता बाली भित्र्याउने चटाराेमा छन् ।
जतिकाे बाली भित्र्याउने चटाराे जनतालाई छ, त्याे भन्दा बढी मंसिर ४ मा हुने निर्वाचनकाे प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवार र प्रचार टाेलीलाई छ । ५ वर्षमा हुन लागेकाे निर्वाचनमा यतिबेला उम्मेदवार बनेका मध्ये पर्वतमा प्रदेशसभामा तर्फका उम्मेदवार सुदिप कुँवर पनि भाेट माग्न व्यस्त हुनुभएकाे छ ।
मिजासिलाे स्वभावका कुँवर पर्वतमा वाम लोकतान्त्रिक गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार हुनुभएकाे छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका कुँवर आइतबार मोदी गाउँपालिका ४ मा पर्ने क्षेत्रका मतदातासँग मत माग्न पुग्नुभएकाे थियाे ।
उहाँले साे क्रममा मतदाताका गुनासा र सुझाव सुन्न आएको, चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरनुभयाे । बाली भित्र्याउने बेला भएकोले पनि होला, गाउँघरमा भन्दा मान्छेहरू खेतबारीमा बढी देखिन्छन् ।
यतिबेला मत माग्न आउने उम्मेदवारसँग सर्वसाधरणले आफ्ना अपेक्षा र गुनासाहरू निर्धक्कले सुनाउँने गरेका छन् । मतदाताले अधिकांश ठाउमा विकास निर्माणसँग मुख्य गरी सडकसँग सम्बन्धित गुनासा राख्ने गरेका छन् । सडकको ट्र्याक खोलेको लामो समय भए पनि स्तरोन्नति हुन नसक्दा यातायातको सुविधा उपभोग गर्न नसकिएकाे गुनासाे उनीहरूकाे छ ।
मोदी गाउँपालिका-४ लेस्पार्कका टेकबहादुर पुनले सडकको ट्र्याक खोलेको चार/पाँच वर्ष भइसक्दा पनि मोटर गुड्न नसकेको बताउनुभयाे । क्याङ, खुइजुरी लगायतका स्थानमा पनि मतदाताले पनि सडक बनाइ दिन आग्रह गरेका थिए ।
अधिकांश मतदाता भोट माग्ने बेलामा मात्र नेता गाउँमा आउने, चुनाव जितेपछि गाउँ नआउने गरेको गुनासो गरे। सोही गुनासोको जवाफ दिँदै प्रदेशसभा उम्मेदवार कुँवरले भन्नुभयाे, ‘तपाईँको गुनासो सही छ। यसअघि त्यस्ता कमजोरी देखा परेका हुन्। तर अब त्यस्तो हुने छैन। नेतृत्व र नागरिकबिच नङ र मासुको जस्तो सम्बन्ध हुनपर्छ। हामी त्यस्तो सम्बन्ध विकास गर्ने प्रतिबद्धता गर्छौं ।’

