फ्रान्समा हिंसा चर्कियाे
प्रहरीकाे गोली लागेर एक किशाेरकाे मृत्यु भएपछि फ्रान्समा हिंसा भड्किएकाे छ । हिंसात्मक प्रर्दशन चर्किएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँकाे जर्मनीको लागि तय भएको राजकी भ्रमण नै स्थगित गरिएकाे छ ।
म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन र ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो ।
यसैबीच, फ्रान्समा प्रदर्शनकारीले ठाउ ठाउमा आगो बालेर सवारी आवागमनमा अवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् ।
स्काइ न्यूजका अनुसार प्रहरीले शनिबार सम्ममा करिब २ हजार ४ सय जनालाई पक्राउ गरेको छ । तर फ्रान्सको गृह मन्त्रालयले भने ९९४ जनालाई हिरासतमा लिइएको जनाएकाे छ ।
सार्वजनिक सडकमा दुई हजार ५ सय ६० स्थानमा आगजनी गरिएको, एक हजार ३ सय ५० कार जलेको र २ सय ३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएका छन् ।
हिंसात्मक प्रर्दशनका क्रममा ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएकाे त्यहाँकाे गृह मन्त्रालयले जानकारी दिएकाे छ ।
पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि प्रर्दशनले उग्र रूप लिएकाे हाे ।

