पोखरा १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं – १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि डेढ महिनादेखि सुरु हुँदै आएको महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सम्पन्न गर्दै वडाले तालिममा सहभागीहरू बिच आजै वक्तृत्वकला प्रतियोगिताको पनि आयोजना गरेको छ। ’सामाजिक रूपान्तरणका लागि महिलाहरूको भूमिका’ विषयक प्रतियोगितामा २१ जना प्रतियोगीले सहभागिता जनाएका थिए। जसमा सानिपाटन आमा समूहकी विनु ढकाल प्रथम हुनुभयाे । अनु गैरे द्वितीय, मनु थापा तृतीय र सीता रानाभाट र निर्मला भण्डारीले सान्त्वना प्राप्त गर्नुभयाे । विजेताहरूले क्रमश: ५ हजार, ३ हजार, २ हजार र १–१ हजार प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश सांसद भीम कार्कीले मानिसका मन भित्र हज्जारौं तर्कहरू आइरहने तर, जान्ने बुझ्ने व्यक्तिहरूलाई पनि मन भित्रका कुराहरू व्यक्त गर्न कठिन हुने भन्दै यस्ता कार्यक्रमले मन भित्र उब्जिएका हरेक काम कुराहरूलाई अभिव्यक्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।

उहाँले महिलाहरू शिक्षित भए बालबालिकाले सिक्ने अवसर पाउने र तीनै बालबालिका भविष्यका कर्णधार भएकाले महिलाहरू चेतनशील बने मात्रै समाज सम्भयतामा अगाडी बढ्ने बताउनुभयाे ।

कार्यक्रमका सभाध्यक्ष तथा वडा अध्यक्ष तोरण बानियाँले वडाका जनप्रतिनिधिहरूको साझा छलफलबाट वडावासी महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेर यस कार्यक्रमको आयोजना गर्न सफल भएको बताउनुभयाे ।

४५ दिने क्षमता अभिवृद्धि कार्यक्रममा वडाका २९ आमा समूहका २५७ जनाले सहभागिता रहेकाे थियाे ।

Facebook Comments