जलवायु परिवर्तन हुनुमा विकसित देश मुख्य जिम्मेवारः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित देशहरू नै जलवायु परिवर्तनका लागि मुख्य जिम्मेवार रहेकाे बताउनुभएकाे छ।
विकसित देशहरूकै कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको प्रधानमन्त्रीकाे भनाइ छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको २८ औं सम्मेलन कोप-२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्बन उत्सर्जनमा शून्य योगदान भएपनि नेपाल जलवायु परिवर्तनको नकारात्मक असर भोग्न वाध्य भएको बताउनुभयाे ।
‘प्रधानमन्त्री प्रचण्डले हरितगृह ग्यास उत्सर्जनमा शून्य योगदान रहेको नेपालजस्ता कम विकसित मुलुकहरूले अन्यायपूर्ण ढंगले जलवायु परिवर्तनको नकारात्मक असर धेरै खेप्नुपरेको उल्लेख गर्दै यसकाे अन्त्य हुनुपर्नेमा जाेड दिनुभयाे ।

यसको असरले हिमनदी सुक्न थालेका, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरू बढी हुनेजस्ता नकारात्मक असरहरू भोग्न परेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
विश्वबाट हिमनदीको एकतिहाई कम भइसकेको र यो शताब्दीमा अर्को एक तिहाइ हिमनदी बिलिन हुने वैज्ञानिकहरूको चेतावनी दिइसकेको अवस्थामा जलवायु परिवर्तनको क्षेत्रमा सबै मुलुक संवेदनशील हुन विकसित देशहरूसँग प्रधानमन्त्री प्रचण्डकाे आग्रह थियाे ।

