पाल्पामा बस दुर्घटना ६ जनाकाे मृत्यु, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पाल्पामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिलाहरू रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मृतकहरूमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका छन् ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो ।सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका १६ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पिन प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेकाले शुक्रबार बिहान मात्र निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको हाे ।

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित बनाउनेतर्फ लाग्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

Facebook Comments