मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताउनुभएकाे छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा भएको दोस्रो पञ्चवर्षिय योजना निर्माणको क्रममा मुस्ताङमा आयोजित सरोकारावालाहरुको अन्तक्रियामा मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएकाे हाे ।
‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उहाँले भन्ननुभयाे, ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’
मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उहाँकाे भनाइ थियाे ।
‘पर्यटन सँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ थरिको स्याउ, आलु निकै प्रख्यात छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयाे, ‘हरेक रेष्टुरेन्टका मेनुमा हुने मुस्ताङी आलु हामीले पुर्याउन सकेका छैनौँ, अब पुर्याउने गरि सामुहिक खेती गर्नुहोस्, प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिनेछ ।’
भौगोलिक अवस्था, हावापानी, भुवनोट, स्थानीयको आवश्यकता पहिचान गरेर योजना निर्माण गर्ने सरकारले लक्ष्य अनुसार गण्डकी प्रदेश नीति तथा योजना आयोगले जिल्लागत छलफल संचालन गरेको उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले जानकारी दिनुभयाे ।
छलफलमा प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तह, जिल्ला सरकारी कार्यालय, सामाजिक संघ संस्थाका प्रमुखहरुको सहभागिता रहनेछ ।
मुस्ताङमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु योगेश गौचन, सरिता प्रसाई, गण्डकी प्रदेश सभा सदस्यहरु बिकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचन लगायतको उपस्थिती थियो ।

