४५ जना प्रहरी अधिकृतहरूकाे पदाेन्नति

प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयपछि ४५ जना अधिकृतले दर्ज्यानी चिन्ह प्राप्त गरेका हुन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको थियाे ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो ।

पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताउनुभयो ।

पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उहाँकाे निर्देशन थियाे ।

Facebook Comments