उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टीका नेता यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे ।

उहाँले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार गरी ३० हजार ३२८ मतभार प्राप्त गर्नुभयाे ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ। जसपाका संसदीय दलका नेता समेत रहनुभएका यादव उपराष्ट्रपतिमा चयन भएसँगै साे क्षेत्रमा संघीय संसदकाे उपनिर्वाचन हुनेछ । साे क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्ने चर्चा छ ।

बीएस्सी, बीएडसम्मको अध्ययन गर्नुभएका यादव शिक्षण पेसा त्यागेर २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रामा लाग्नुभएकाे थियाे । यादव सरल नेताका रूपमा परिचित हुनुहुन्छ ।

२०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएकाे हाे ।

यादव शेरबहादुर देउवा नेतृत्वकाे मन्त्रीमण्डलमा वन तथा वातावरणमन्त्री बन्नुभएकाे थियाे ।

Facebook Comments