इन्धनकाे मुल्य घट्याे, स्वचालित मुल्य प्रणाली लागू
नेपाल आयल निगमले इन्धनकाे मुल्य घटाएकाे छ । निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्दै इन्धनकाे मुल्य घटाएकाे हाे ।
आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको मूल्य नियमन गर्नेछ । निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीका अनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।
आइतबार रातीबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४–४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको छ । यस्तै, खाना पकाउने ग्याँसमा नाफा नराख्ने नीतिअनुसार निगमले हाल नाफा रहेको प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य पनि घटाएको छ ।
नयाँ मुल्य सूची अनुसार अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४, तराईका जिल्लाहरूमा १६१ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रूपैयाँ पर्नेछ ।
डिजेल र मट्टीतेल उपत्यकामा लिटरको १४६ रूपैयाँ, तराईका जिल्लाहरूमा १४३ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रूपैयाँ पर्नेछ । एलपी ग्याँस (खाना पकाउने ग्याँस) को प्रतिसिलिण्डर मूल्य १८०० रूपैयाँबाट घटेर १७९० रूपैयाँ कायम भएको छ ।

