मातातीर्थ औँसीः आमाको मुख हेर्ने पर्व मनाइँदै
आज मातातीर्थ औँसी आमाको मुख हेर्ने पर्वका रूपमा मनाइँदैछ । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाकाे मुख हेर्ने पर्व मनाउने गरिन्छ ।
हिन्दु समाजमा आजकाे दिनमा जन्मदिने आमालाई सम्मान गरी आमाको मुख हेर्ने दिनमा आमालाई बस्त्र तथा मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाउने गरिन्छ ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने चलनका रूपमा आमाको मुख हेर्ने पर्व मनाइन्छ ।
मातातीर्थ औँसीका दिन काठमाडाैंकाे चन्दागिरी नगरपालिकामा पर्ने मातातीर्थमा ठूलाे मेला लाग्ने गर्दछ । साे स्थानमा दर्शनकै लागि नेपालबाट मात्र नभइ छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरू आउने गर्दछन् ।
आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमाकाे स्मरण गर्दछन्।
वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यारा हुन् भनी वर्णन गरिएकाे छ ।

