प्रधानमन्त्रीकाे आह्वानमा सर्वदलीय बैठक बस्ने

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरूकाे बैठक बस्दैछ । सुन तस्करी प्रकरणकाे छानविनका सम्बन्धमा प्रतिपक्षी दल र सत्ता पक्षवीचकाे असमझदारीले गर्दा संसद बैठक निरन्तर अवरूद्ध छ ।

संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक बाेलाउनुभएकाे हाे । आइतबार भएकाे बैठकमा सहमति नजुटेपछि आज साेमबार पनि बैठक बस्न लागेकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूवीच सुन तस्करी प्रकरणमा अहिले भइरहेकाे छानविन यथावत रहने गरी अर्काे संयन्त्र बनाउने मध्यमार्गी उपायका बारे छलफल हुनेछ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान लिएको छ भने सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानलाई नै विश्वास गर्न आग्रह गर्ने गरेकाे छ । दलहरूवीच सहमति नभएपछि आइतबारका लागि तय भएकाे संसद बैठक भाेलीसम्मका लागि स्थगित भएकाे छ ।

Facebook Comments