नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदै छ।
तीन वटा कसुरमा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाउन लागिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार आरोपीहरूलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा समावेश गर्न लागिएकाे छ ।
राष्ट्रकै छविमाथि आँच पुर्याउने गरी काम भएको ठहर गर्दै प्रहरीले उनीहरूलाई राज्यविरूद्धको कसुरमा पनि मुद्दा चलाउनु पर्ने राय प्रहरीले दिन लागेको हो । प्रहरीले प्रतिवेदन बुझाएपछि सरकारी वकिलकाे कार्यालयले थप अध्ययन गरेर मुद्दा प्रक्रिया अगाडि बढाउनेछ ।
आफू ठगिएको भन्दै १२५ जनाले दिएको उजुरका आधारमा प्रहरीले आरोपीहरूसँग २६ करोड रुपैयाँ बराबरको बिगो माग गर्नुपर्ने राय पनि दिएको छ। यस प्रकरणमा अहिलेसम्म १६ जनालाई पक्राउ परेका छन् भनै अझै १६ जना संलग्न रहेकाे देखिएकाले उनीहरूलाई फरार प्रतिवादी बनाएर प्रतिवेदनमा समावेश गरिएकाे छ ।

