बाँकेस्थित बाल सुधार गृहमा झडप, एक जनाकाे मृत्यु, १० जना घाइते
बाँकेको एक बाल सुधार गृहमा रहेका बन्दीहरूकाे २ समूहवीचकाे झडपमा १ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप भएकाे हाे ।
साे झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको र अन्य १० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । केसी जबर्जस्ती करणी मुद्दामा सुधार गृहमा राखिएको अभियुक्त रहेकाे प्रहरीले जनाएको छ ।
समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएकाे थियाे । ९ जना सम्पर्कविहीन रहेकाे र १० जना घाइतेका अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।
यसअघि पनि साे सुधार गृहमा बन्दी भाग्ने तथा ताेडफाेडका घटना भएकाे थियाे । करिव एक महिना पहिला भक्तपुरका बाल सुधार गृहमा एक जना बन्दीकाे मृत्यु भएपछि ताेडफाेड एवं आगजनी भएकाे थियाे ।
क्षमता भन्दा बढी थुनुवा हुँदा देशभरका बाल सुधार गृहहरू व्यवस्थापनमा कठिनाइ भइरहेकाे बताइन्छ ।

