सहकारी दर्ता एवं विस्तारमा राेक

देशभरका धेरैजसाे सहकारीहरूमा समस्याग्रस्त भएपछि सरकारले नयाँ सहकारी संस्था दर्ता र पूराना सहकारीको शाखा विस्तारमा रोक लगाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मन्त्रिपरिषदको कात्तिक २३ गते बसेको बैठकले नयाँ सहकारी संस्था र कार्यक्षेत्र विस्तारमा अनिश्चितकालका लागि रोक लगाएको हाे ।

सहकारी संस्थाहरूले ठूलो बचत स्वीकार गर्ने र जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा सहकारी क्षेत्रमा जाेखिम बढेको मन्त्रालयले जनाएकाे छ ।

त्यसो हुँदा वचतकर्ताको वचत फिर्ता हुन नसक्ने र यसले सहकारीमा गम्भीर समस्या सिर्जना भई  सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्न गएकाे सरकारकाे ठहर छ ।

मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/७/२३ मा निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

Facebook Comments