सभामुखले सरकार गठनमा पक्षधरता लिन नमिल्ने सर्वाेच्चकाे आदेश
मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका उद्धव थापा २० दिनमै पदमुक्त
सर्वाेच्च अदालतले सरकार गठन प्रक्रियामा सभामुख सहभागी हुन नमिल्ने फैसला गरेकाे छ ।
काेशी प्रदेश सरकार गठनका क्रममा सभामुखकाे समेत हस्ताक्षर प्रयोग गरेर गठन भएकाे सरकार असंवैधानिक हुने भन्दै परेकाे रिटकाे सुनुवाइपछि फैसलामा सर्वाेच्चले सभामुखले सरकार गठनमा पक्षधरता लिन नमिल्ने ठहर गरेकाे हाे ।
सर्वाेच्चकाे फैसलासँगै काेशी प्रदेशमा सभामुख समेतकाे समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका कांग्रेस संसदीय दलका नेता उद्धव थापा सर्वोच्चको आदेशअनुसार २० दिनमै मुख्यमन्त्री पदबाट पदमुक्त हुनुभएकाे छ ।
काेशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिट निवेदनमा बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आदेश जारी गरेको हो ।
प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेर थापाले बहुमत दाबी गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङले असार २१ मा थापालाइ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।
अव ७ दिनभित्र बहुमतकाे सरकार गठन गर्न नभएमा ठूलाे दलकाे नेतृत्वमा सरकार गठनका लागि सर्वाेच्चकाे आदेश छ ।

