साताैंपटक मन्त्रिपरिषद्‌ पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयाे ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे हाे ।

८ मन्त्रालय पाएकाे कांग्रेसमा आन्तरिक विवाद भएपछि ४ जनाले मात्र सपथ लिएका छन् । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङले सहरी विकास मन्त्रालयकाे जिम्मेवारी सम्हाल्नेछन् ।

त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएकाे छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएकाे छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालय नपाएकाे भन्दै खानेपानी मन्त्रीबाट राजीनामा दिनुभएकाे छ । प्रधानमन्त्री प्रचण्डसँगै अझै कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

Facebook Comments