नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगकाे बैठक हुँदै
दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रमुख एजेण्डा
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बिहीबार (आज) हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नै काठमाडौं आउँने कार्यतालिका छ ।

बैठककाे प्रमुख एजेण्डामा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ ।
१९८७ मा गठन भएकाे संयुक्त आयोगकाे काठमाडौंमा हुने सातौं बैठकमा यसबाहेक नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् निर्यात, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको विषय लगायतका बिषयमा छलफल हुनेछ ।
बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायत रहने बताइएकाे छ ।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना सहभागी हुने तय भएकाे छ । त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा गत जेठ १८ मा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयातको घोषणा गर्नुभएकाे थियाे ।
भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ । शुक्रबार पशुपतिनाथको दर्शन गरेर दूतावासको कार्यक्रममा सहभागी भएपछि दिउँसो १२ बजे नयाँदिल्ली फर्कने उहाँकाे भ्रमण तालिका छ ।

