पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी
यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाकाे उम्मेदवारी परेकाे छ ।
महासंङ्घकाे अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन् ।
गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएकाे हाे । यस्तै, शर्माले प्रेस चौतारी र प्रेस युनियनसहित प्यानलबाट उम्मेदवारी दिनुभएकाे हाे । त्यसैगरी हालका वरिष्ठ उपाध्यक्ष विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चार जनाको उम्मेदवारी परेको छ । चौलागाईं चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन् ।
उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार छन् भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुन् ।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ, जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार छन् ।
यसैगरी खुला सचिवमा सात, महिला सचिवमा तीन, आदिवासी जनजाति सचिवमा तीन, मधेसी सचिवमा तीन, दलित सचिवमा चार, एशोसियट सचिवमा तीन र कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएकाे छ ।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएकाे छ ।

