गण्डकी प्रदेशमा सत्ता राजनीतिः एमाले नेता खगराज अधिकारीकाे नेतृत्वमा सरकार गठन

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिनुभएकाे छ । सत्ता राजनीतिमा सभामुख समेतकाे समर्थन देखाएर अधिकारी मुख्यमन्त्री हुनुभएकाे हाे । जुन अभ्यास काेशी प्रदेशमा भएर अदालतले असंवैधानिक बनेर बदर भएकाे थियाे ।

मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराइसक्नुभएकाे छ ।

मुख्‍यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिनुभयाे ।

यसअघि आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएकाे थियाे ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिनुभएकाे थियाे ।

नेपाली कांग्रेसले भने अधिकारी नेतृत्वकाे सरकार गठन संविधान विपरीत भनेकाे छ । सभामुख समेतकाे समर्थनमा सरकार गठन हुन नसक्ने कांग्रेसकाे तर्क छ ।

Facebook Comments