प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकताः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएकाे छ । ।

आइतबार ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने प्रतिवद्धता गर्नुभएकाे छ ।

विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘विश्व अहिले सूचना प्रविधिको युगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ,’ प्रधानमन्त्रीकाे शुभकामना सन्देशमा उल्लेख छ । 

सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments