सत्तारुढ दलहरूबिच सरकारकाे कामका बिषयमा छलफल
सत्तारुढ दलहरूबिच सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनकै तर्फबाट सरकारको पक्षमा साथ सहयाेग कम भएकाे गुनासाे गर्दै गठबन्धनकाे भावना विपरीत काेही पनि जान नहुने बताउनुभएकाे थियाे ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार संसद्को कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको सत्तारुढ दलको मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयाे ।
उहाँले सरकारका समग्र काम प्रक्रियाहरूमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने भन्नेबारेमा पनि छलफल भएको बताउनुभयाे ।
सरकारकाे न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरूबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने वर्ताैलाले उल्लेख गर्नुभयाे ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले एमाले र कांग्रेसबिच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रूपमा सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने बताउनुभयाे ।

