हेमजा आलु महोत्सव: ८० टन आलु बिक्री हुने अपेक्षा

आइतवारदेखि सुरु भएको १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी रहेकाे छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।

बैशाख ५ गतेसम्म चल्ने महाेत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार भइरहेको छ भने करिव ८० टन आलु बिक्री वितरण हुने आयोजकको अपेक्षा छ ।

महोत्सव शुभारम्भकाे अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताउनुभयाे ।

उहाँले आलु महोत्सवलाई कृषि महोत्सव जस्तै भएकाे भन्दै यस्ता क्रियाकलापले किसानकाे हौसला बढ्ने बताउनुभयाे । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिचाई व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पुनःनिर्माणका लागि पहल गरिरहेकाे बताउनुभयाे ।

महाेत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । हेमजामा करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिव १५ करोडको आलु बिक्री वितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।

Facebook Comments