प्रधानमन्त्रीको चरित्र हत्या एवं भ्रम फैलाउने कार्यकाे प्रतिवाद गर्नुपर्ने एमालेको निष्कर्ष

नेकपा एमालेले उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको दाबी गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिनु उपलब्धि भएकाे बताउनुभयाे ।

तर काठमाडौं- १६ र कीर्तिपुरको नतिजालाई हेर्दा शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको ज्ञवालीले उल्लेख गर्नुभयाे ।

उहाँका अनुसार शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष पार्टीले निकालेको छ ।

ज्ञवालीका अनुसार सामाजिक सञ्जालहरूको दुरूपयोग गर्दै ‘मिस-इन्फरमेसन’, ‘डिस-इन्फरमेसन’ हरूको माध्यमबाट राजनीतिक दल, नेताहरू, सरकार, प्रधानमन्त्रीको चरित्र हत्या गर्ने, भ्रम फैलाउने, जनतामा निराशा सिर्जना गर्ने काम भइरहेकाले त्यसको राजनीतिक प्रतिवाद गर्न पार्टी पंक्तिलाई आव्हान गरिएकाे छ।

Facebook Comments