प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएकाे छ । शुक्रबार विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त हुनुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डले राख्नुभएकाे प्रस्तावको पक्षमा ६३ मत प¥यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ । बैठकमा उपस्थित २५८ सांसदमध्ये एक जना तटस्थ बसे ।

प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयाे ।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको पहिलो घटना हो ।

प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएकाे थियाे ।

प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथो पटक विश्वासको मत लिनुभएकाे थियाे । त्यसबेला प्रचण्डको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एक जना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।

Facebook Comments