मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले दिएकाे जानकारी अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र अहिले सबै प्रदेशमा साधारणतया बदली भएकाे जनाएकाे छ।

कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

Facebook Comments