नेकपा माओवादी केन्द्रका विधान सम्मेलन आज
नेकपा माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौंमा आजदेखि हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा विहान ११ बजे पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
३ दिनसम्म चल्ने सम्मेलनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहनेछ ।
सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता रहन माओवादी केन्द्रको सचिवालयले जनाएको छ ।
सम्मेलनले पार्टीको विधान संशोधन गरी टुंगो लगाउनेछ । यसअघि उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा रहेको कमिटीले विधानको मस्यौदा तयार गरी स्थायी समितिले पारित गरिसकेको छ ।
कतिपयले माओवादी केन्द्रमा याे सम्मेलन कर्मकाण्डमै सीमित हुने भनेर टिप्पणी गरेका छन् । साे पार्टीमा ३० वर्षदेखि प्रचण्डकाे नेतृत्व रहेकाे र विघिविधान भन्दा पनि प्रचण्डकै एकल निर्णय मार्फत् पार्टी चलिरहेकाे टिप्पणीकर्ताकाे तर्क छ ।

