बाइडेन जी सेभेनका लागि इटालीमा, युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन बुधबार इटाली पुग्नुभएकाे छ । सम्मेलनको क्रममा उहाँले युक्रेनसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने र युक्रेनलाई दीर्घकालीन सहयोगको प्रतिवद्धता जनाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा भेट्ने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन गर्ने बताएको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले नयाँ सम्झौताले अमेरिकाले भविष्यमा पनि युक्रेनलाई रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग गरिरहने स्पष्ट पार्ने बताउनुभयाे ।
जेक सुलिभानले भने ‘१५ देशले आफ्नो सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले युक्रेनको रक्षात्मक प्रतिरोध क्षमतालाई बलियो बनाउनेछ ।’ अमेरिकी सम्झौतामा युक्रेनलाई सहयोग गर्न अमेरिकी कंग्रेससँग मिलेर काम गर्ने प्रतिबद्धता समावेश भए पनि स्थलमा अमेरिकी सेना प्रयोग गर्ने प्रतिबद्धता नरहेको स्पष्ट पार्नुभयाे ।
इटालीमा १३ देखि १५ जुनसम्म जी–सेभेन शिखर सम्मेलन हुँदैछ । यो विश्वका सात विकसित अर्थतन्त्रहरूको समूह हो । जसमा अमेरिका, बेलायत, फ्रान्स, इटाली, जर्मनी, क्यानडा र जापान सदस्य छन् ।
शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जापानी प्रधानमन्त्री फुमियो किशिदा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने छन् । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अतिथि राष्ट्रको प्रतिनिधिका रुपमा सहभागी हुनुहुनेछ ।
शिखर सम्मेलनको क्रममा, विश्वका सबैभन्दा विकसित प्रजातन्त्रका प्रमुखहरूले युक्रेन युद्ध र मध्य पूर्वमा चीनसँगको व्यापार असंतुलन, कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा निम्त्याएको खतरा र अफ्रिकामा विकास चुनौतीहरू सहित विभिन्न चुनौतिहरूबारे छलफल गर्नेछन् । शिखर सम्मेलनको क्रममा नेताहरूले रूस विरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गर्ने पनि जनाइएको छ ।

