संघीय संसदका दुवै बैठक बस्दै
संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाकाे बैठक दिउसाे १ः१५ बजेका लागि तय भएकाे छ ।
संसद् सचिवालयले दुवै सदन बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सहकारी प्रकरण, गिरीबन्धु टि स्टेटकाे जग्गा विक्री प्रकरण लगायतका बिषयमा सत्तापक्ष र प्रतिपक्षवीच तनावपूर्ण अवस्था छ ।
सहकारी प्रकरणमा छानविनकाे माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने कांग्रेसको माग छ ।
कांग्रेसकाे अवराेधका कारण जेठ १ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि सदनमा टेबुल हुन सकेको छैन भने संघीय संसदका दुवै सदनबाट राष्ट्रपतिलाई ‘धन्यवाद प्रस्ताव’ समेत पारित हुन सकेकाे छैन ।
सत्तापक्ष र प्रतिपक्षवीच सहमति नबनेसम्म संसद बैठक सञ्चालन हुने नहुन अनिश्चित छ ।

