जसपा नेपालकाे रिटमा सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

निर्वाचन आयाेगकाे निर्णय यथास्थितिमा रहने

जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध साे पार्टीका तर्फबाट सर्वाेच्च अदालतमा दायर रितमा अल्पकालीन अन्तिरम आदेश जारी भएकाे छ ।

जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन कानुनविपरीत रहेकाे भन्दै दर्ता गर्नुभएकाे रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।

जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा विभाजनविरुद्ध निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएकाे थियाे ।

सर्वोच्चले बुधबार सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न र जेठ ८ गते छलफलका लागि उपस्थित हुन भनेकाे छ ।

न्यायाधीश विनोद शर्माको इजलासले दल विभाजनपछि हालसम्मका काम कारबाही जहाँ जे–जस्तो अवस्थामा छन्, त्यही अवस्थामा राखेर जेठ ८ गते छलफलका लागि उपस्थित हुन दुवै पक्षलाई झिकाउन आदेश गरेकाे हाे ।

यादवले रिटमा आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्नुभएकाे छ ।

यादव अमेरिका भ्रमणमा रहेका बखत जसपाका नेता अशोक राईले ७ जना सांसदलाई लिएर गत वैशाख २३ गते जनता समाजवादी पार्टी गठन गरेका थिए । साे पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएकाे थियाे ।

Facebook Comments