हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्ः राजेन्द्र महतो

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताउनुभएकाे छ ।

राजधानीमा बुधबार आफ्नो पुस्तक ‘अधुरा क्रान्ति, संघर्ष मातृभूमिका लागि’ विमोचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । अहिलेसम्म भएका सबै आन्दोलन अधुरो नै रहेको दाबी उहाँले गर्नुभयाे । एकल चिन्तन सोचबाट देशको शासन र संविधान चलेको अवस्थामा क्रान्ति आवश्यक भएको उहाँको धारणा थियाे ।

उहाँले भन्नुभयाे, ‘यो देशमा जति पनि परिवर्तनका लागि आन्दोलन संघर्ष भए, क्रान्ति भए त्यो कुनै पनि क्रान्ति र संघर्षले पीडामा परेको जनतालाई न्याय दिन सकेन । त्यो आन्दोलनको लक्ष्य पूरा भएको महसुस भएको छैन । यस अर्थमा नेपालमा क्रान्तिको आवश्यकता अझै पनि छ । एकल चिन्तन सोचबाट देशको शासन र संविधान बनाउने, आफ्नो हातले आफ्नै पिठ थपथपाउने, अनि सबै भइसक्यो भन्ने यो अवस्थामा फेरि पनि क्रान्तिको आवश्यकता छ ।’

उहाँले आफ्नो पुस्तकमा जनताले भोगेका उत्पीडनको बारेमा लेखेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यो पुस्तक वास्तवमा भन्नुपर्दा उत्पीडित जनताको उत्पीडनको पुलिन्दा हो । यो देशमा पीडामा परेको मधेसी, आदिवासी, जनजाती, दलित, मुस्लिम, थारु लगायत उत्पीडनमा परेको जनताको पीडाको पुलिन्दा हो । त्यो मैले भन्ने प्रयास गरेको छु ।’

अहिलेसम्म जति क्रान्ति भए त्यो सबै अधुरा भएको कारणले पनि आफ्नो पुस्तकको नाम ‘अधुरा क्रान्ति’ भएको उहाँको भनाइ छ । उहाँले यो पुस्तक सात वर्ष लामो यात्रा गरेर आज यहाँ आइपुगेको भन्दै लेखनमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गर्नभयाे ।

Facebook Comments